शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा प्राणप्रतिष्ठा
पाेखरा | जेठ २०, २०८०
पोखरा: पोखराको भीमकालीपाटनस्थित संस्कृत माध्यमिक विद्यालयमा निर्मित शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा आज प्राणप्रतिष्ठा गरिएको छ ।
डा.भोलानारायण रेग्मीको प्रमुख आचार्यत्वमा मन्दिरका गणेश, देवी, सूर्य, विष्णु र शिवलगायत देवीदेवताका मूर्तिमा वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको हो ।
उक्त अवसरमा ठूलो संख्यामा श्रद्धालु भक्तजन उपस्थित भई आर्थिक सहयोग समेत गर्नुभएको े मूल आयोजक समितिका संयोजक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मूर्तिहरुको पर्दा हटाएर सार्वजनिक गर्दै डा. चिद्घन चैतन्य महाराजले निराकार तत्वका रुपमा ईश्वरको बोध गर्न जोसुकैले नसक्ने वास्तविकतामा भगवान्को सगुण साकार रुपमा मूर्तिहरुको स्थापना गरिने गरिएको बताउनुभयो ।
२०७५ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीले मन्त्रालयमार्फत् पन्ध्र लाख रुपैयाँ बजेट विनियोजन गरी सुरु भएको मन्दिरको बाँकी कार्यसमेत गरी ९० लाख लागत लाग्ने जनाइएको छ ।
पोखराको प्रसिद्ध धार्मिक स्थल गाईघाट, विन्ध्यवासिनी नजिक रहेको यस मन्दिरलाई स्थानीय समुदायको अपनत्व र संरक्षकत्वमा महत्वपूर्ण धार्मिक स्थलका रुपमा स्थापित गर्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समिति सदस्य रोजी पराजुलीले बताउनुभयो ।
प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल आयोजक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक श्रीकान्त सापकोटाले जानकारी दिनुभयो ।
अन्य विभिन्न उपसमिति संयोजकहरू रामविक्रम राणा, ईश्वरीप्रसाद बास्तोला, जुनकाजी गुरुङ, रामू पौडेल, रामबहादुर लामिछाने, विष्णुकमारी मल्ल, कल्पना अधिकारी, गोविन्दप्रसाद अधिकारी, रुद्रप्रसाद सुवेदी, गोविन्द नेपाली, साहरा प्रधान, श्रीकान्त सापकोटा लगायत हुनुहुन्थ्यो । कामना आमा समुहले ध्वजा पताका व्यवस्थापनको संयोजन गरेको थियो ।
आर्थिक व्यवस्थापन उपसमिति संयोजक ईश्वरीप्रसाद बास्तोलाका अनुसार गुरुकुल अक्षयकोष र मन्दिर सञ्चालनका लागि छ लाख एक हजार आठ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।
विद्यालयले मन्दिर निर्माण समिति, चन्दादाता, स्थानीय संघसंस्था, आमा समूह, युवा क्लब तथा सम्पूर्ण श्रद्धालु भक्तजन लगायतलाई धन्यवाद ज्ञापन गरेको छ । मन्दिरमा आजबाट नै दैनिक रुपमा रुद्रभिषेकलगायत धार्मिक अनुष्ठान सुरु गरिने कार्यक्रममा जानकारी गराइयो । गण्डकी प्रदेशकै जेठो विद्यालयमा निर्मित कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल बन्ने विश्वास लिइएको छ ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

